प्रभावकारी ऋण असुली सम्बन्धी तालिम सम्पन्न:

जेठ ३०, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८३ जेठ ३० गते एक दिवसिय प्रभावकारी ऋण असुली सम्बन्धी तालिम सुकेधारा, काठमाडौंमा संचालित तालिममा २५ वटा साकोसबाट २४ जना पुरुष १३ जना महिला गरी जम्मा ३७ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन समारोह कास्कूनका सचिव विरेन्द्र भण्डारीज्यूको अध्यक्षता, संघका कोषाध्यक्ष सिमा पुरी, संचालक सदस्य खेलनाथ सिग्देल, कार्यक्रम अधिकृत सुनिता चलाउने, व्यवसाय सहायक विश्वास पौडेलको उपस्थिती रहेको थियो ।

समापन सत्रमा मन्तव्य राख्नु हुँदै अतिथी एवं संघका सञ्चालक सदस्य सिग्देलज्यूले सहकारी क्षेत्रका समसामयिक विषयवस्तुहरुबारे चर्चा गर्दै सुशासित र सुदृढ सहकारी अभियान निर्माणका लागि राज्यको नियमन प्रभावकारी हुनुपर्ने बताउनुभयो । तालिममा सहभागीहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै अनवरत शिक्षा मार्फत सहकारी संस्थाले कानुनको पालना गर्दै शुसासित बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।

समापन सत्रमा मन्तव्य राख्नु हुँदै कार्यक्रमका अध्यक्ष एवं संघका सचिव भण्डारीज्यूले सहकारी संस्थाहरुले जोखिम व्यवस्थापन तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । सहकारी संस्थाको कर्जा लगानी संस्थाको मुटु रहेका उल्लेख गर्दै मुटु स्वस्थ रहेन भने संस्था हालको बजारमा टिक्न सक्दैनौ त्यसैले संस्थाको मुटु मापन गर्न असुली व्यवस्थापन दुरुस्त हुनुपर्ने धारण व्यक्त राख्नु भयो । ऋण असुलीको कानूनी प्रक्रिया तालिम एक अत्यावश्यक तालिम रहेको बताउँदै उहाँले ऋणसम्बन्धी जोखिम घटाउन, असुली प्रक्रियामा पारदर्शिता ल्याउन, र वित्तीय संस्थाको दीगो विकास सुनिश्चित गर्न महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको थियो । संस्थाले ऋण लगानीको चरणदेखि असुलीसम्मको चरणलाई नै उत्तिकै महत्व दिनुपर्ने उहाँको भनाई थियो । तालिबाट प्राप्त ज्ञान, सिप र विषयवस्तुहरुको सार्थकताका लागि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य कार्य हुने हुँदा तालिममा सहभागी प्रतिनिधीहरुले कार्यान्वयनका लागि पहल गर्ने विश्वास लिएको बताउनु भयो । सहभागी र सहजकर्ता सबैलाई धन्यवाद दिँदै तालिम समापन भएको बताउनु भएको थियो ।

कार्यक्रममा अतिथीज्यूहरुले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । तालिमको सहजीकरण कास्कूनका कानुनी सल्लाहकार एवं अधिवक्ता शिव कुमार अधिकारीले गर्नुभएको थियो भने समापन समारोह संघका तालिम अधिकृत लव सिंखडाले संचालन गर्नु भएको थियो ।

करदाता शिक्षा तथा कोष लेखांकन सम्बन्धी कार्यक्रम सम्पन्न:

काठमाडौं, २९ जेठ । कास्कूनले आ.व. २०८२/०८३ को कार्यक्रम अनुसार आन्तरिक राजस्व कार्यालय कालिमाटीको संयुक्त आयोजनामा मिति २०८३ जेठ २९ गते संस्थाहरूलाई लागि गरिने एक दिवशीय करदाता शिक्षा तथा कोष लेखांकन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय कालिमाटी सभाहलमा संचालित कार्यक्रममा १५ जना महिला २० जना पुरुष गरी जम्मा ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम संघका अध्यक्ष दिपक पनेरुज्यूको प्रमुख आतिथ्यता, आन्तरिक राजस्व कार्यालय कालिमाटीका प्रमुख कर अधिकृत गणेश बहादुर डाँगीज्यूको अध्यक्षता दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको कार्यक्रममा कास्कूनका सचिव वीरेन्द्र भण्डारी विषेश अतिथि, कास्कूनका पुर्व लेखा सुपरिवेक्षण समिति संयोजक सुवास चन्द्र घिमिरे अतिथि, कास्कूनका तालिम अधिकृत लव सिंखडाको उपस्तिथिमा रहेको थियो ।


कास्कूनका अध्यक्ष दिपक पनेरुले कार्यक्रमको शुभारम्भ गर्दै सहकारीका समसामयिक वस्तुस्थितिबारे जानकारी गराउँदै सहकारी नियमन प्राधिकरण गठनको व्यवस्थादेखि कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र कार्यान्वयनमा आएकोमा सकारात्मक धारणा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उहाले कास्कूनले विभिन्न सहकारी शिक्षाका कार्यक्रमहरु ल्याउने योजना अगाडी बढाउने बताउतै सक्रिय सहभागीता हुनेमा विश्वस्त रहेको बताउनु भएको थियो ।


समापन सत्रको समापन मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष आन्तरिक राजस्व कार्यालय कालिमाटी प्रमुख कर अधिकृत गणेश बहादुर डाँगीज्यूले सहभागीहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै आय कर ऐन २०५८, नियमावली २०५९ मा भएका व्यवस्थाहरु, आर्थिक ऐन र सो को संसोधन अनुसार कर व्यवस्थापन, कर संकलन, कर जम्मा र करको विवरण पेश गर्ने र सहकारीका लागि आयकर ऐन २०५८ मा भएका कुराहरु राख्नुभएको थियो । ऐनका व्यवस्था पालना नहुँदा ब्याज, शुल्क र जरीवाना समेत लाग्ने साथै सहकारी संस्थामा कोष व्यवस्थापन सम्बन्धमा सहकारी ऐन, नियमावली अनुसार व्यवस्था गर्ने र समुचित परिचालनमा विशेष जोड दिन अग्रह गर्नु भएको थियो । कार्यक्रमबाट प्राप्त ज्ञान, सिप र विषयवस्तुहरुको सार्थकताका लागि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य कार्य हुने हुँदा कार्यक्रमा सहभागी प्रतिनिधीहरुले कार्यान्वयनका लागि पहल गर्ने विश्वास लिएको बताउनु भयो । सहभागी र सहजकर्ता सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको बताउनु भएको थियो ।


कार्यक्रमको सहजीकरण आन्तरिक राजस्व कार्यालय कालिमाटीका कर अधिकृत सुवास पोखे्रल र कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारीले गर्नुभएको थियो भने आन्तरिक राजस्व कार्यालय कालिमाटीकी कर अधिकृत विनया पोखरेलले संचालन गर्नु भएको थियो ।

कास्कूनबाट दोलखा जिल्ला बचत संघ अवलोकन भ्रमण

काठमाडौं, २६ वैशाख । कास्कूनले आ.व. २०८२/०८३ को कार्यक्रम अनुसार दोलखा जिल्ला बचत संघ अवलोकन भ्रमण सम्पन्न भएको छ । दोलखा जिल्ला बचत संघको सभा हलमा दुबै संघहरु बिच भेटघाट कार्यक्रममा सहकार्य र सम्बन्धमा थप प्रभावकारी र उत्कृष्ट बनाउने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संघका अध्यक्ष दिपक पनेरुको अध्यक्षता, प्रमुख अतिथि बागमती प्रदेश बचत संघका वरिष्ठ उपाध्यक्ष एंव दोलखा जिल्ला बचत संघका सल्लाहकार जिवसराज खड्का, अतिथि दोलखा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष जगत प्रसाद सुवेदी, कास्कूनका उपाध्यक्ष बिनिता अधिकारी, सचिव वीरेन्द्र भण्डारी, संचालक सदस्य पुस्कर सापकोटा, खेलनाथ सिग्देल, ले.सु.स संयोजक अनिता थापा, NEFSCUN SACCOS Managers CURIAE का संयोजक दिपक बस्नेत, र दुबै संघका व्यवस्थापनका कर्मचारीहरुको उपस्तिथिमा रहेको थियो । कार्यक्रममा दोलखा जिल्ला बचत संघका अध्यक्ष भूमिराज खड्काले संचालन गर्नुभएको थियो ।

कार्यक्रमा प्रमुख अतिथि बागमती प्रदेश बचत संघका वरिष्ठ उपाध्यक्ष एंव दोलखा जिल्ला बचत संघका सल्लाहकार जिवसराज खड्काले कास्कूनका अध्यक्ष दिपक पनेरुको नेतृत्वमा अवलोकन भ्रमणमा पाल्नुभएका सम्पूर्ण महानुभावहरुलाई दोलखा जिल्ला बचत संघमा स्वागत गर्दै सहकारी क्षेत्रमा विद्यमान विभिन्न प्रकृतिका जोखिमहरुलाई सहकारी ऐन, नियमावलीमा आधारीत भई संस्थाको विनियम र आन्तरीक कार्यविधि मार्फत संस्थालाई संचालन गर्नु पर्ने र सहकारी सिद्धान्तको व्यवहारिक प्रयोगमा लाग्नु पर्ने बताउनु भएको थियो ।


कार्यक्रममा कास्कूनका सचिव वीरेन्द्र भण्डारीले संघको वित्तिय बिबरण प्रस्तुत गर्नु भएको र लक्ष्य प्राप्तिका लागि सदस्य सहकारी संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय तथा गैर वित्तीय सेवाहरूलाई थप प्रभावकारी बनाइदै लगिएको बताउनु भएको थियो ।


कार्यक्रममा बोल्दै कास्कूनका अध्यक्ष दिपक पनेरुले कास्कूनले दिने सेवा सुविधामा कमी आउन नदिन तथा थप प्रभावकारी बनाउनका लागि वित्तीय तथा अन्य सेवाका बारेमा संघहरु सचेत रहन आह्वान गर्नुभयो । आजको सहकारी अभियान बलियो तब मात्र हुन्छ जब सहकारी अभियान भित्रका सबै तह अभियान मैत्रीका साथ एकजुट भई बहस र पैरवीमा जोड दिई सदस्य संस्थाको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सक्ने हैसियतमा मात्रै अहिलेको सहकारी प्रतिको नकारात्मक भावनालाई चिर्न सफल हुन्छ । अब भागवण्डको मनोभावनालाई भन्दा उचित व्यक्ति उचित स्थानको मनोभावना लिई अघि बढ्दा मात्रै संघले र अभियानले लिएको सङ्कल्प पूरा हुने निश्चित भएको बताउनु भयो ।

कार्यक्रमा दोलखा जिल्ला बचत संघका अध्यक्ष भूमिराज खड्काले कास्कूनका अध्यक्ष दिपक पनेरुको नेतृत्वमा अवलोकन भ्रमणमा पाल्नुभएका सम्पूर्ण महानुभावहरुलाई दोलखा जिल्ला बचत संघमा स्वागत गर्ने अवसर मिलेको, आर्थिक मन्दि र विशम् परिस्थितिहरूमा संघको वृद्धि विकास र सदस्य संस्थाहरुलाई प्रतिफल दिन सक्षम संघ भएको बताउनु भएको थियो । फलस्वरूप, राष्ट्रिय सहकारी महासंघ लि. नेपालद्वारा २०८२ को देशकै उत्कृष्ट संघको विधाबाट यस संघलाई सम्मानित गरेको छ । यो सम्मान केवल हाम्रो संघको सफलता मात्र होइन, दोलखाको सहकारी अभियानको साझा प्रतिफल, मेहनत र समर्पणको प्रतीक हो । दोलखाको सहकारी अभियान संधै फरक पहिचानका साथ अघि बढ्दै आएको छ । ग्रामीण भेगसम्म वित्तीय सेवा पु¥याउने, पहुँचभन्दा बाहिर परेका समुदायलाई आर्थिक मूलधारमा जोड्ने काममा यहाँका सहकारीहरूले देखाएको सक्रियता आज पनि राष्ट्रिय स्तरमा उदाहरणीय छ । सहकारीलाई संविधानमै आर्थिक मेरुदण्डको आधारका रूपमा स्थापित गरिनु सहकारी आन्दोलनको ऐतिहासिक उपलब्धि हो, जसमा दोलखाका सहकारीकर्मीहरूको भूमिका गर्वका साथ स्मरणगर्न योग्य छ भन्नुभएको थियो ।

कार्यक्रमा दोलखा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष जगत प्रसाद सुवेदीले सहकारीको शक्ति अझै जीवित छ । सुशासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा उतार्दै “गरे सकिन्छ” भन्ने विश्वासलाई फेरि एकपटक प्रमाणित गर्ने सामथ्र्य हामीसँग छ । नीति, विधि र प्रविधिको सही प्रयोग, नेतृत्वको सामूहिक इच्छाशक्ति र सदस्य केन्द्रित सोचले सहकारीलाई फेरि “समुदाय रूपान्तरण “को बलियो आधार बनाउन सक्छ । अबको बाटो स्पष्ट छ । सहकारी केवल बचत संकलन गर्ने र ऋण दिने संस्था मात्र होइन, यो समुदायमा समर्पित रहेर सदस्यको जीवन बदल्ने अभियान हो । संख्या होइन, गुणस्तरमा केन्द्रित सहकारी; शहर होइन, गाउँमै सम्भावना खोज्ने सहकारी, बाज होइन, भोलिलाई सुरक्षित गर्ने सहकारी–यही हाम्रो प्रतिबद्धता हुनुपर्दछ बताउनु भयो ।

वार्षिक योजना तथा बजेट निर्माण तालिम शुक्रबार सम्पन्न भएको छ ।

वैशाख ११, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८३ वैशाख १० र ११ गते दुई दिवशीय वार्षिक योजना तथा बजेट निर्माण तालिम तालिम कलंकी, काठमाडौंमा संचालित तालिममा २२ वटा साकोसबाट १५ जना पुरुष १० जना महिला गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो ।


तालिम समापन समारोह कास्कूनका अध्यक्ष दिपक पनेरुज्यूको अध्यक्षता, अतिथि संघको गोगंबु सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य कविन्द्र रिमाल, व्यवसाय सहायक अनुज मगरको उपस्थिती रहेको थियो ।

समापन सत्रमा मन्तव्य राख्नु हुँदै अतिथी एवं संघको गोगंबु सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य रिमालज्यूले सहकारी क्षेत्रलाई प्रभावकारी रूपमा अगाडि बढाउनका लागि संस्थाहरुले योजना बनाएर काम गर्नुपर्ने र त्यसका लागि कास्कूनले सञ्चालन गरेको तालिम सहयोगी हुने बताउनु भयो । उहाँले संस्थाहरु कारोबारका आधारमा नभई योजना, कार्यक्रम र सुशासनका हिसाबले प्रभावकारी हुनु पर्नेमा जोड दिँदै प्रत्येक वर्षको लागि स्पष्ट लक्ष्य, कार्य योजना र बजेट निर्धारण गर्नुपर्छ, यसले संस्थालाई व्यवस्थित रूपमा अगाडि बढ्न सहयोग गर्छ भन्नेकुरा बताउनु भएको थियो ।

समापन सत्रको समापन मन्तव्य राख्दै अध्यक्ष पनेरुज्यूले तालिममा संकटका अवस्थामा बजेट निर्माण गर्दा संस्थामा मानव संशाधन विकास, उत्पादनमुखी कार्यक्रम, कर्मचारी आचारसंहिता, तरलता संकट व्यवस्थापन वा जोखिम व्यवस्थापनलाई समेत समावेश गरी कार्यान्वयनमा जोड दिनुपर्ने, आर्थिक बर्षको समाप्ती अगावै वार्षिक योजना तथा बजेट निर्माण गरी सञ्चालक समितिबाट पारित र आगामी साधारणसभाबाट अनुमोदन गराउनुपर्नेमा जोड दिनुभयो । साथै योजना विनाको साकोस लगाम विनाको घोडाजस्तै हुने भएकोले वार्षिक योजना सञ्चालक समिति र व्यवस्थापनलाई मार्गनिर्देश गर्ने आधारभएको उहाँले बताउनुभयो । बजेट तथा योजनाले व्यवस्थापन र सञ्चालक समितिलाई स्वेच्छाचारी हुनबाट रोक्ने भएकोले यहाँ छलफल भएका विषयहरुलाई समेटी पूर्ण वार्षिक योजना निर्माण गरी सोको पूर्ण कार्यान्वयनका साथै मूल्यांकन एवम् समिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो । सहभागी र सहजकर्ता सबैलाई धन्यवाद दिँदै तालिम समापन भएको बताउनु भएको थियो ।

तालिमका सहभागीहरूले वार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धी तालिम पछि संस्थाको योजना निर्माण र कार्यान्वयनमा सहज हुने बताएका छन् । संस्थाले बनाएका योजनालाई थप प्रभावकारी र व्यवस्थित गराउन तालिम अत्यन्तै सहयोगी भएको सहभागीहरूको भनाइ छ ।
कार्यक्रममा अतिथीज्यूहरुले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । तालिमको सहजीकरण प्रशिक्षक अनिल वीर बज्राचार्यले गर्नुभएको थियो भने समापन समारोह संघका तालिम अधिकृत लव सिंखडाले संचालन गर्नु भएको थियो ।

सहकारीमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।

फागुन १, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८२ फागुन १ गते एक दिवसिय सम्पत्ति शुद्धीकरण निवारण तथा गोएमएल सम्बन्धी तालिम कलंकी, काठमाडौंमा संचालित तालिममा ४१ वटा साकोसहरुबाट २४ जना पुरुष १९ जना महिला गरी जम्मा ४३ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन समारोह कास्कूनका अध्यक्ष दिपक पनेरुज्यूको अध्यक्षता, अतिथि संघका सचिव विरेन्द्र भण्डारी, संचालक सदस्य पुरुषोत्तम नेपाल, व्यवसाय सहायक अनुज मगरको उपस्थिती रहेको थियो ।

समापन सत्रमा मन्तव्य राख्नु हुँदै अतिथी एवं संघका सञ्चालक सदस्य नेपालज्यूले तालिममा सहभागीहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै अनवरत शिक्षा मार्फत सहकारी संस्थाले कानुनको पालना गर्दै शुसासित बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।


समापन सत्रमा मन्तव्य राख्नु हुँदै अतिथी एवं संघका सचिव भण्डारीज्यूले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन, नियमावली, निर्देशनसहित सहकारीका लागि कानुनी प्रावधानहरूको विस्तृत जानकारी दिनुभयो । सहकारीहरूले ऐनमा तोकिएका कार्य समयमै पूरा गर्न सकेमा सहकारीप्रति सदस्य र सरोकारवालाको विश्वास अझै बढ्ने उल्लेख गर्नुभयो । राज्यबाट जारी गरिएका नीति तथा निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सहकारीको साख बढाउन सबै सहकारीकर्मी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनद्वारा सहकारी संस्थाहरूमा हुने वित्तीय कारोबारलाई स्वच्छ र पारदर्शी बनाउन तालिमले सहयोग पुग्ने बताउनुभयो ।


समापन सत्रको समापन मन्तव्य राख्दै अध्यक्ष पनेरुज्यूले तालिममा सम्पत्ति शुद्धीकरण निवारण एक शसक्त विषय भएको हुँदा सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली र सहकारी संस्थाहरुका लागि जारी निर्देशन बमोजिम संस्थाले गर्नु पर्ने जिम्मेवारीका कार्यहरु गर्न ढिला गर्न नहुने बताउँदै सहजीकरण गर्न कास्कून तयार रहेको बताउनु भएको थियो । तालिबाट प्राप्त ज्ञान, सिप र विषयवस्तुहरुको सार्थकताका लागि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य कार्य हुने हुँदा तालिममा सहभागी प्रतिनिधीहरुले कार्यान्वयनका लागि पहल गर्ने विश्वास लिएको बताउनु भयो । सहभागी र सहजकर्ता सबैलाई धन्यवाद दिँदै तालिम समापन भएको बताउनु भएको थियो ।

कार्यक्रममा अतिथीज्यूहरुले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । तालिमको सहजीकरण एफसिए राजकुमार फुयालले गर्नुभएको थियो भने समापन समारोह संघका तालिम अधिकृत लव सिंखडाले संचालन गर्नु भएको थियो ।