काठमाडौं, २९ जेठ । कास्कूनले आ.व. २०८२/०८३ को कार्यक्रम अनुसार आन्तरिक राजस्व कार्यालय कालिमाटीको संयुक्त आयोजनामा मिति २०८३ जेठ २९ गते संस्थाहरूलाई लागि गरिने एक दिवशीय करदाता शिक्षा तथा कोष लेखांकन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय कालिमाटी सभाहलमा संचालित कार्यक्रममा १५ जना महिला २० जना पुरुष गरी जम्मा ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम संघका अध्यक्ष दिपक पनेरुज्यूको प्रमुख आतिथ्यता, आन्तरिक राजस्व कार्यालय कालिमाटीका प्रमुख कर अधिकृत गणेश बहादुर डाँगीज्यूको अध्यक्षता दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको कार्यक्रममा कास्कूनका सचिव वीरेन्द्र भण्डारी विषेश अतिथि, कास्कूनका पुर्व लेखा सुपरिवेक्षण समिति संयोजक सुवास चन्द्र घिमिरे अतिथि, कास्कूनका तालिम अधिकृत लव सिंखडाको उपस्तिथिमा रहेको थियो ।

कास्कूनका अध्यक्ष दिपक पनेरुले कार्यक्रमको शुभारम्भ गर्दै सहकारीका समसामयिक वस्तुस्थितिबारे जानकारी गराउँदै सहकारी नियमन प्राधिकरण गठनको व्यवस्थादेखि कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र कार्यान्वयनमा आएकोमा सकारात्मक धारणा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उहाले कास्कूनले विभिन्न सहकारी शिक्षाका कार्यक्रमहरु ल्याउने योजना अगाडी बढाउने बताउतै सक्रिय सहभागीता हुनेमा विश्वस्त रहेको बताउनु भएको थियो ।

समापन सत्रको समापन मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष आन्तरिक राजस्व कार्यालय कालिमाटी प्रमुख कर अधिकृत गणेश बहादुर डाँगीज्यूले सहभागीहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै आय कर ऐन २०५८, नियमावली २०५९ मा भएका व्यवस्थाहरु, आर्थिक ऐन र सो को संसोधन अनुसार कर व्यवस्थापन, कर संकलन, कर जम्मा र करको विवरण पेश गर्ने र सहकारीका लागि आयकर ऐन २०५८ मा भएका कुराहरु राख्नुभएको थियो । ऐनका व्यवस्था पालना नहुँदा ब्याज, शुल्क र जरीवाना समेत लाग्ने साथै सहकारी संस्थामा कोष व्यवस्थापन सम्बन्धमा सहकारी ऐन, नियमावली अनुसार व्यवस्था गर्ने र समुचित परिचालनमा विशेष जोड दिन अग्रह गर्नु भएको थियो । कार्यक्रमबाट प्राप्त ज्ञान, सिप र विषयवस्तुहरुको सार्थकताका लागि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य कार्य हुने हुँदा कार्यक्रमा सहभागी प्रतिनिधीहरुले कार्यान्वयनका लागि पहल गर्ने विश्वास लिएको बताउनु भयो । सहभागी र सहजकर्ता सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको बताउनु भएको थियो ।

कार्यक्रमको सहजीकरण आन्तरिक राजस्व कार्यालय कालिमाटीका कर अधिकृत सुवास पोखे्रल र कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारीले गर्नुभएको थियो भने आन्तरिक राजस्व कार्यालय कालिमाटीकी कर अधिकृत विनया पोखरेलले संचालन गर्नु भएको थियो ।

